
”Special ‘Soul Awakening’ Meditation Sadhana in the presence of Life Coach Sanjiv Malik ji in Itahari.”






इटहरी । सुनसरीको इटहरीमा स्वस्थ र शान्त जीवनका लागि विशेष ‘लाइभ ध्यान कक्षा’ भव्य रूपमा सम्पन्न भएको छ। आनन्दपुर धाम, भारतबाट आउनुभएका आत्मा जागृति मिशनका प्रख्यात लाइफ कोच एवं ‘स्माइल योगी’ श्री संजीव मलिक जीको पावन सान्निध्यमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
‘स्माइल योगी’ तथा ‘आत्मा जागृति’ परिवारद्वारा आयोजित यस विशेष साधना सत्रमा इटहरी र आसपासका क्षेत्रका धेरै सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गुरुदेव संजीव मलिकले आधुनिक व्यस्त जीवनमा मानसिक तनावलाई कम गर्दै कसरी आन्तरिक खुसी र शान्ति प्राप्त गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। उहाँको सरल र प्रभावकारी ध्यान विधिको माध्यमबाट सहभागीहरूले सकारात्मक ऊर्जा, आन्तरिक शान्ति र आत्मजागरणको दिव्य अनुभूति गरेको बताएका छन्।
आत्मा जागृति मिशन, इटहरीका पूर्वाञ्चल संयोजक योगी मेघराजले कार्यक्रमका बारेमा जानकारी दिँदै भन्नुभयो, “यस ध्यान साधनाले मानिसहरूमा आध्यात्मिक चेतना भर्नुका साथै स्वस्थ जीवन जिउने कला सिकाएको छ। सहभागीहरूको उत्साहजनक प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ।”
संयोजक मेघराजले आगामी दिनहरूमा पनि समाजमा आध्यात्मिक जागरण फैलाउन यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले सबैलाई आत्मिक उन्नति र स्वस्थ–शान्त जीवनको यात्रामा सहभागी हुन अपिल समेत गर्नुभएको छ। कार्यक्रमको समापन ‘जय सच्चिदानन्द’ को भावपूर्ण उद्घोषका साथ गरिएको थियो।